त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा काम गरिरहेका कैलालीको भजनी नगरपालिका–१ का सन्तोष चौधरीसहित एउटै गाउँका पाँच जना बाढीबाट जोगिएर घर फर्किएका छन्।
भदौ १० गते सुरुङमा काम गरिरहेका बेला माथिबाट बाढी आउँदै गरेको खबर पाएपछि उनीहरू हतार–हतार उच्च भागतर्फ भागेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उद्धार भएपछि उनीहरूलाई काठमाडौं ल्याइएको थियो।
भदौ १४ गते घर फर्किने खर्च पाएपछि सन्तोषसहित पाँच जनाको टोली भदौ १५ गते अटो चढेर गाउँ पुगेको हो। सकुशल घर फर्किएपछि परिवार र गाउँलेमा खुसी छाएको छ।
सन्तोषले सुरुङमा काम गर्ने धेरै साथी अझै सम्पर्कविहीन रहेको बताएका छन्। सुदूरपश्चिमका १ सय ४० भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको बताइएको छ।