मङ्लबार, भदौ ३०, २०८३

शिवपुरीधामद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ लाख ५ हजार बढी सहयोग

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित श्री शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धामले प्राकृतिक विपद्‌बाट प्रभावितहरूका लागि सहयोगको हात बढाएको छ। धामले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख पाँच हजार छ सय पैँतीस रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।
कार्यवाहक अध्यक्ष दानसिंह धामीको विशेष अगुवाईमा उक्त रकम सङ्कलन गरी विपद् व्यवस्थापन तथा राहत कार्यका लागि उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपद्का कारण देशका विभिन्न भागमा परेको संकटको घडीमा सामाजिक तथा धार्मिक संस्थाको तर्फबाट सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको धाम समितिले जनाएको छ।
उक्त रकम धाम कार्यसमितिका पदाधिकारी, सल्लाहकारहरू, शिवपुरीधाम नारी जागरण समूह, शिवपुरी धाम माताजी तथा मन्दिरमा कार्यरत कर्मचारीहरूको संयुक्त योगदान र सहभागिताबाट सङ्कलन गरिएको हो।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमकै पवित्र देवस्थलको रूपमा रहेको शिवपुरी धामले पूजापाठ र धार्मिक अनुष्ठानका अतिरिक्त विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यहरूमा पनि निरन्तर सक्रियता देखाउँदै आएको छ।