नेपाली सेनाले भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण सो क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान गरेको छ। गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
सहायक रथी सुवासजंग थापाले भने, ‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ । जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौं ।’
उनले जलविद्युत्का कर्मचारी तथा कामदार आयोजनाको संरचनाभन्दा बाहिर परेको हुनसक्ने अनुमान पनि गरेका छन् । तर, हालसम्म सम्पर्कविहीन आयोजना सम्बद्ध कर्मचारीहरुका आफन्त तथा परिवारजनले यस्तो संख्या निकै धेरै रहेको बताउँदै आएका छन् ।