मङ्लबार, भदौ ३०, २०८३

चीनमा २४ देशका ५१९ नागरिक अझै सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते हिमनदी भत्किएर आएको  पहिरोले छिमेकी चीनको सिचाङतर्फ हालसम्म ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना हराइरहेकै छन्।

उता उद्धारका क्रममा ड्रोनमार्फत १ हजारभन्दा बढी उडान गरिएको छ भने ५.४३ टन राहत सामग्री हवाईमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको बुझिएको छ । गहिरो खोजी अभियान जारी रहेकै बेला दुई जनालाई जीवित उद्धार गरिएको छ।

चिनियाँ अधिकारीहरूले बेपत्तामध्ये चीनबाहेक २३ देशका २६१ जना विदेशी नागरिक रहेको जानकारी दिएका छन् । चिनियाँ नागरिकसमेत जोड्दा ५१९ हुन आउँछ। केरुङ बन्दरगाह पहिरोले क्षतिग्रस्त भएपछि त्यहाँ व्यापार तथा रोजगारीका लागि पुगेका धेरै नेपाली नागरिकसमेत आवतजावत गर्न नपाएर अलपत्र परेका छन् ।

स्थानीय अधिकारीहरूले केरुङमा रहेका १ हजार ७२० नेपाली सीमा बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराइएको बताएका छन् ।