रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।
जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखा ६५ करोड क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा एक करोड ५६ लाखको क्षति भएको छ ।
ग्लोबल आईएमई बैंकको एउटा शाखा प्रभावित हुँदा ११ लाखको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाखको क्षति भएको छ । लक्ष्मी सन्राइज बैंकको एउटा शाखा प्रभावित हुँदा एक करोड १२ लाखको क्षति भएको छ ।
माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाखको क्षति भएको छ ।
एनआईसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख र नेपाल इन्भेस्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा ४० लाखको क्षति भएको छ ।
त्यसैगरी एनएमबि बैंकको एउटा शाखा प्रभावित हुँदा चार लाखको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा ५३ लाखको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाखको क्षति भएको छ ।
प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा ६७ करोड १३ लाखको क्षति भएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ वटा शाखामा चार करोड २३ लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाखको क्षति भएको छ ।
उक्त रकमबाहेक पनि छुट्टै १९ करोड ५९ लाख क्षति भएको देखिएको छ ।
प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा नौ करोड ५३ लाख, कालिका गाउँपालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा तीन करोड २३ लाखको क्षति भएको छ ।