शनिबार, असार १३, २०८३

कञ्चनपुरकाे दाेधाराचाँदनीका युवक डोटीमा हाेटलभित्र मृत फेला, साथीहरूसँगै घुम्न गएका थिए

धनगढी । कञ्चनपुरकाे दाेधाराचाँदनीका एक युवक डाेटीमा मृत भेटिएका छन् ।

दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोल बस्ने ३५ वर्षीय सरोज थापा डोटीको जोरायल गाउँपालिका–१ गैरास्थित रेनुका होटलको कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले थापा सुतेकै हाेटलकाे काेठामा मृत अवस्थामा भेटिएको जानकारी दिए ।

उनकाअनुसार बिहीबार दिउँसो कञ्चनपुरबाट चालकसहित १३ जना सवार रहेको सु.प.प्र.०२–००१ ख १३२८ नम्बरको हाइसमा थापा घुम्न डाेडी गएका थिए।

राति करिब साढे ९ बजेतिर उनीहरू गैरास्थित रेनुका होटलमा पुगेका थिए। सरोज थापा होटलको २०४ नम्बर कोठामा हाइस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ गंगालाल चोकका ३९ वर्षीय बसन्तबहादुर सिंहसँगै सुतेकाे प्रहरीले जनाएको छ ।

बिहान सवा ६ बजे उठेर चालक सिंहले हेर्दा थापा ओछ्यानमै उत्तानो अवस्थामा मृत फेला परेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विपिनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।