धनगढी, १३ असार / पशुसेवा केन्द्र धनगढीको आयोजनामा सञ्चालित ६ दिने पशु आहारा व्यवस्थापन तालिम सम्पन्न भएको छ।असार ८ गतेदेखि सुरु भएको तालिम असार १३ गते समापन गरिएको छ।
पशुपालन व्यवसायलाई थप वैज्ञानिक, उत्पादनमुखी तथा व्यावसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा प्रदेशका विभिन्न जिल्लाबाट छनोट गरिएका कुल १४ जना किसान सहभागी भएका थिए। अधिकांश जिल्लाबाट एक–एक जना किसानलाई सहभागी गराइएको थियो भने भौगोलिक अवस्था तथा आवश्यकताका आधारमा केही जिल्लाबाट दुईदेखि तीन जनासम्म सहभागी गराइएको आयोजकले जनाएको छ।
तालिममा पशुपालन तथा पशु पोषण क्षेत्रमा लामो अनुभव हासिल गरेका विभिन्न क्षेत्रका विज्ञ तथा प्राविधिक प्रशिक्षकहरूले सहजीकरण गरेका थिए। सहभागी किसानहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र प्रविधिलाई आफ्नै फार्म तथा समुदायमा प्रयोग गर्दै अन्य किसानलाई समेत जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समापन कार्यक्रममा आयोजकले यस्ता सीपमूलक तालिमले किसानको क्षमता अभिवृद्धि गर्नुका साथै पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।