कञ्चनपुर, १२ असार / कञ्चनपुर दोधारा चाँदनीका डीएन पोल्ट्री फिड एण्ड सप्लायर्सका सञ्चालक नवीन सिंह धामीले आफूहरूको व्यवसायलाई प्रमाणबिना तस्करीसँग जोडेर सामाजिक सञ्जालमा बदनाम गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कारबाहीको माग गरेका छन्।
सञ्चालक धामीले असार ९ गते राति करिब १:३० बजे दोधरा चाँदनी नगरपालिका–१ स्थित प्रेम सिंह धामी र लोकेन्द्र चन्दको खोरबाट बोइलर कुखुरा लोड गरी आवश्यक सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा गरेर सवारी नम्बर सु.प.प्र. ०१–००१ च ३३२३ मार्फत दोधरा–टिकापुरतर्फ पठाइएको थियो।
ढुवानी प्रक्रिया कानुनी रूपमा पूरा गरिएको थियो र सम्बन्धित जाँच तथा प्रक्रियापछि गाडी गन्तव्यतर्फ पठाइएको थियो।
सोही समयमा सो क्षेत्रमा पुगेका आफूलाई स्थानीय र भलगर बताउने कमलराज भट्टले गाडी रोक्दै अवैध सामान हो; तस्करी गरेर ल्याएको भनेर केहीबेर समस्या सिर्जना गरेका थिए। वडाध्यक्ष लगायतको उपस्थिति भएपछि गाडी जान दिए पनि भट्टले सामाजिक सञ्जालमा प्रमाणबिना तस्करीको आरोप लगाएर सामग्री सम्प्रेषण गरेर आफ्नो व्यवसायको प्रतिष्ठामा असर पुगाएको धामीको दाबी छ ।
कमल भट्टले आफ्नो फेसबुकमा तस्करी भएको दाबी गर्दै सशस्त्र प्रहरीका इन्सपेक्टर नरेन्द्र बिष्ट, दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का विक्रम बहादुर चन्द लगायत वडा सदस्यहरूलाई मिलेमतोमा तस्करी गरेको आरोप लगाउँदै समाजिक सञ्जालमा भिडियो सामग्री सम्प्रेषण गरिरहेका छन्।
प्रमाणविहीन सामग्री सम्प्रेषण गरी आफूहरूको सामाजिक मानमर्यादामाथि आँच पुगेको बताउँदै वडा अध्यक्षले पनि कारबाहीको माग सहित निवेदन दिएका छन्। भने सशस्त्र प्रहरीका इन्सपेक्टर बिष्टले पनि उक्त विषयप्रति गम्भीर आपत्ति जनाएका छन्।
यस विषयमा भट्टसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन् । भट्टले आफ्नो व्यक्तिगत स्वार्थका लागि उक्त प्रमाणविहीन सामग्रीलाई झुटा दाबी गरी सम्प्रेषण गरेको डीएन पोल्ट्रीका सञ्चालक धामीले बताएका छन्।